Rasuwa Digital Khabar

रसुवा डिजिटल खबर . Powered by Blogger.

Saturday, August 24, 2013

परिश्रमी सोमबहादुर तामाङ र कृषिले ल्याएको परिवर्तन

ईन्द्रध्वज क्षत्री
रसुवा जिल्ला काठमाडौँबाट त्यति टाढा नभएपनि वर्षको कम्तीमा ३ महिना यो सडक सम्पर्कबाट बिच्छेद हुन्छ । यमानका पहिराले हरेक वर्ष कम्तीमा राम्चे र मुलखर्क गरी २ ठाउँमा सडकलाई क्षतविक्षत बनाइदिन्छन् र सदरमुकाम धुन्चे सडक सम्पर्कबाट बिच्छेद हुन्छ । यता राम्चेका बासिन्दा भने दुईतिरको पहिरोको कारणले टापुजस्तो अवस्थामा पुग्छन् । यस्तो अवस्थामा धेरैलाई लाग्नसक्छ त्यहाँ त झण्डै भोकमरीको अवस्था पो सिर्जना हुन्छ कि । तर त्यसो होइन ।
पानी पर्दा पहिरो चलिहाल्छ । माथिबाट ठुल्ठुला ढुँगा गड्याङगुडुङ आवाजसहित खस्छन्, तल बनिरहेको बाटोको डोरेटो पनि भत्काईदन्छ । तर कर्मठ उद्यमी र परिश्रमी रसुवाबासीलाई पहिरोले रोकेको छैन । पानी रोकिइसक्दा स्थानीयबासी जुट्छन्, पहिरो पन्छाउँछन् र अर्को डोरेटो बनाइहाल्छन् । उनीहरु आफु भोकमरीमा पर्ने कुरा त परै छाडौँ बरु काठमाडौँलाई समेत तरकारी खुवाइरहेका छन् ।
२०७० श्रावण १५ गते । यस्तै पहिरो पार गरेर राम्चे पुग्दा बिहानको ८ बजेको थियो । पहिरोकै मुख काटिनसक्दै देखियो मानिसहरुको भीडभाड । कोही बन्दा, कोही मुला, कोही आलु र कोही काउली बोकेर आइरहेका थिए। टिनले छाएको एउटा घरमा मानिसहरु आआफ्नो सामान जोखाउन तँछाडमछाड गर्दै थिए । यो राम्चेबजार कृषि बहुउद्देश्यीय सहकारी सँस्थाको कार्यालय साथै तरकारी सँकलन केन्द्र पनि हो । बुझ्दा थाहा भयो यहाँ जोखेपछि फेरी डोकोमा हालेर बोकेर पहिरो कटाएपछि पारिपट्टीबाट बस वा ट्रकमा राखेर यो तरकारी सीधै काठमाडौँ ल्याइन्छ । यसरी पहिरो कटाएबापत भरियाले प्रति केजी एक रुपियाँ पाउँछन् ।
मलाई जिज्ञासा लाग्यो यो लेकमा यसरी तरकारी खेती गरेर मानिसहरुले कति बेचबिखन गर्दा हुन्, कति आम्दानी गर्दा हुन् । मैले दर्ता किताब हेरेँ । मेरो आँखा एक ठाउँमा टक्क अडिए जहाँ लेखिएको थियोः
२०७० श्रावण १५ गतेको तरकारी सँकलन विवरण
सोमबहादुर तामाङ मुला २०० केजी, बन्दा ८०० केजी ।
एकै दिनमा एक मेट्रिक टन तरकारी बेच्नु सामान्य कुरा होइन । यस्तो भीरालो बस्तीमा एक जनाले ५० केजी नै बोकेर आएको भएपनि कम्तीमा २० खेप ल्याएपछि मात्र १ टन हुन्थ्यो । बिहान ८ बजे नै २० खेप तरकारी ल्याइपुर्याउने व्यक्तिलाई भेट्ने उत्सुकता मनमा आयो ।
खोज्दै जाँदा छेउमै सुस्ताउँदै गरेका भेटिए सोमबहादुर तामाङ । वर्ष ५५ । उनको साथमा थिइन् श्रीमती हिमबिरी, जेठो छोरा राम बहादुर र माहिलो छोरा सुकराम । उनीहरु मिलेर नै बिहानै १ टन तरकारी झण्डै १ किलोमिटर माथि रहेको बारीबाट अप्ठ्यारो भीरालो बाटो हुँदै सँकलन केन्द्रसम्म झारेका थिए । सबैका खुट्टा जुकाले खाएर रगत झरिरहेको थियो । तर उनीहरुले खासै त्यसको मतलब गरेका थिएनन् ।
सोमबहादुर आफुले त पढ्न पाएनन् नै दुर्गमताको कारणले उनका छोराहरुमध्ये पनि जेठो र माहिलोले क्रमशः २ र ४ कक्षामा पढ्दापढ्दै छाड्नु पर्यो । छोरीहरुले पनि पढ्न पाएनन् । कान्छो छोरा कुमार तामाङले भने पढ्न पाएपनि त्यति जाँगर देखाएनन् ।
बारी त थियो ७ रोपनी तर खोरियाजस्तो मात्र । वर्षभरिमा दुई बाली (मकै र कोदो) लगाइन्थ्यो तर त्यसबाट आएको उत्पादनले श्रम पनि हिसाब गर्ने हो भने लगानी उठाउन पनि मुश्किल पर्थ्यो – मुश्किलले ५ हजार रुपियाँ बराबर पनि आम्दानी हुन्नथ्यो। सोमबहादुर भन्छन् “त्यतिखेर त हाम्रो लगानी मात्रै खेर जान्थ्यो । वर्षमा झण्डै तीन महिनाजस्तो हिउँ पर्ने यस ठाउँमा मकै पाक्न ८ महिना लाग्थ्यो । कोदोलाई पनि झण्डै ५ महिना । कहिलेकाहीँ त लगाएको बीउजति मात्रै उठाउन पनि मुश्किल पर्थ्यो ।”
तर अहिले त्यही बारीबाट सोमबहादुरले वार्षिक झण्डै २ लाख रुपियाँबराबरको आम्दानी गर्छन् । खर्च कटाउँदा पनि १ लाखभन्दा बढी आम्दानी बच्छ । हामी पुग्दा बन्दा २० र मुला १५ रुपैयाँ प्रतिकेजी मुल्यमा बिक्री भइरहेको थियो । यसरी हिसाब गर्दा सोमबहादुरको उक्त दिनको मात्र आम्दानी १९ हजार हुन्थ्यो । ६,७ वर्षअघिसम्म त धुन्चेसम्मै पनि काठमाडौँबाट ल्याएको तरकारी ल्याइन्थ्यो । अहिले भने रसुवाको तरकारी उल्लेख्य परिणाममा काठमाडौँमा आउँछ । ‘पहिले त हामी पनि उतैबाट ल्याएर खान्थ्यो । अहिले त धेरै नै पठाउँछौँ काठमाडौँतिर’,यसो भन्दा सोमबहादुरको मुहारमा आत्मसम्मान र आत्मबिश्वास झल्केको देखिन्थ्यो ।
आखिर कसरी भयो त यो परिवर्तन?
एक सामान्य आइडिया
एउटा सामान्य आइडियाले सोमबहादुरजस्तै राम्चेका ३०० भन्दा बढी किसानहरुको जीवनस्तर परिवर्तन गर्न सफल भएको छ । वर्षैभरी तरकारीको अथाह माग भइरहने काठमाडौँबाट राम्चे धेरै टाढा छैन । काठमाडौँमा आउने तरकारीको मुल स्रोत तराइ हो । र त्यहाँका अधिकाँश खेतमा वर्षा याममा रोपाइँ हुन्छ । गर्मी र वर्षाद्का कारण त्यहाँ बेमौसमी तरकारी खेती गर्ने नै हो भने पनि धेरै कीटनाशक औषधी प्रयोग गर्नुपर्ने हुन्छ । जसले गर्दा अस्वस्थ तरकारी उत्पादन हुने र लगानी पनि बढ्ने अवस्था सिर्जना हुन्छ ।

तर, हिउँदमा तराइमा हुने तापक्रम मध्य र उच्च पहाडी भेगमा वर्षा याममा हुन्छ । यदि मध्य र उच्च पहाडी भागमा पनि तरकारी खेती बिस्तार गर्ने हो भने बेमौसममा पनि ताजा तरकारी उत्पादन भइरहने, त्यसमा कम लागत लाग्ने र कीटनाशक विषादी पनि कम प्रयोग हुने हुनाले स्वस्थ तरकारी उत्पादन हुन्छ । यही सम्भावनालाई मध्यनजर गरेर नेपाल सरकारको उद्योग मन्त्रालय र सँयुक्त राष्ट्रसँघीय बिकास कार्यक्रमद्धारा सँयुक्त रुपमा लागु भइरहेको लघुउद्यम बिकास कार्यक्रम (मेडेप)ले यी क्षेत्रहरुमा तरकारी खेतीका लागि पहल गरेको हो ।
मेडेपले बिगत छ वर्षदेखि त्यहाँका किसानलाई व्यावसायिक तरकारी खेती गर्नका लागि आवश्यक सीप, उन्नत बिउबिजनसम्मको पहुँच, घरायसी कम्पोष्ट मल बनाउने तरिका, बजारसम्मको पहुँच र नियमित आवश्यक प्राविधिक सहयोग प्रदान गरिरहेको छ । यसरी राम्चेमा मात्रै दुई समुहमा सँगठित भएर झण्डै ३०० किसानले व्यावसायिक तरकारी खेती गरिरहेका छन् । यसले गर्दा काठमाडौँका जनताले तुलनात्मक रुपमा ताजा र स्वस्थ तरकारी खान पाएका छन् भने राम्चेका जनताको जीवनस्तरमा उल्लेख्य परिवर्तन ल्याएको छ ।
त्यहाँका किसानमा यस्तो आत्मबिश्वास देखियो कि सोमबहादुरको जेठो छोरा रामबहादुर ४ वर्ष साउदी अरब बसेर फर्केपछि यहीँ किसानीमै लाग्ने बिचारमा छन् । २४ वर्षका उनले अलिक तल धैवुङमा १५ रोपनी जग्गा लिजमा लिएका छन् जहाँ यही वर्षदेखि तरकारी खेती गर्ने लक्ष्यमा छन् । राम्चेको पहिरोको अवरोध सहनु नपर्ने हुनाले उनले धैवुङमा जग्गा लिएको बताए । कुवेतमा रहेकी श्रीमतीलाई समेत उनले देशमै काम गर्ने भनेर फिर्ता बोलाएका छन् ।
बिकास र सशक्तिकरणः
बिकासले उनीहरुलाई सशक्तिकरण पनि गरेको छ । तुलनात्मक रुपमा पिछडिएको मानिने तामाङ समुदायका भएपनि राम्चेका बासिन्दा सँगठित बनेका छन् । उनीहरुले सहकारी सँस्था गठन गरेका छन् जसले बजारसम्मको पहुँच र बचत तथा ऋणका लागि समन्वय गर्छ । मेडेपलगायत अरु सँघसँस्थाको सहयोगमा बनेको साझा सुविधा केन्द्रको भवनमा सहकारीको पनि कार्यालय छ र यही ठाउँलाई तरकारी सँकलनका लागि पनि उनीहरुले प्रयोग गरेका छन् । सहकारीले काठमाडौँका तरकारी बजारसित सीधा समन्वय गर्छ । फलस्वरुप भाउमा ठगिने वा बिचौलियाले धेरै नाफा गरेर उनीहरुलाई कम मुल्य दिने सम्भावना पनि टरेर गएको छ । धेरै किसानमा खेती लगाएपछि फसल राम्रो नउठ्ने हो कि भन्ने चिन्ता भइरहन्छ । तर राम्चेका किसान भने ढुक्क देखिए कि उनीहरु अब सहयोग होइन बाली लगाउने बेला सहजरुपमा ऋण पाएमात्रै पनि हुने बताउन थालेका छन् ।
त्यहाँका किसानहरुसित छलफल गरेपछि मलाई के लाग्यो भने राज्यले सामान्य सहजीकरणमात्र गरिदिने हो भने नेपालमा रहेका अथाह सम्भावनालाई प्रयोग गरी नेपाली जनताकोप जीवनस्तर उकास्न गार्हो छैन । ठुला योजना निर्माण नै बिकास हो भन्ने सँकथनबाट बाहिर आएर जनताको जीवनस्तर उकास्न उनीहरुलाई प्रत्यक्ष लाभ पुग्ने सानासाना योजना र कार्यक्रम लागु गरेर बरु छीटो देश बिकसित हुन्छ जस्तो लाग्यो ।

No comments:

Facebook SDK

  • https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v9.0

यो साईटमा पहुँच कति जना ?

Search This Blog

Blog Archive

Offers

{getPosts} $results={5} $label={Notice} $style={1}
चोमिनग

Made with Love by

Made with Love by
Magistic Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable

Cooking

Shopping

Categories

Contact form

Name

Email *

Message *

Google Lab

Game

News Updates

Education

रसुवा डिजिटल खबर

रसुवा डिजिटल खबर
Rasuwa Digital Khabar

No Thumbnail

No Thumbnail

About Us

About Us
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's.

Default Thumbnail

Default Thumbnail

समाचार

Get this widget

Latest

Featured Section

Popular Posts