धुन्चे, रसुवा, भदौ, ६ गते । रसुवाको उत्तरी क्षेत्रमा पर्ने धार्मिक, ऐतिहाँसिक तथा पर्यटकीय क्षेत्र गोसाइँकुण्डमा जनैपूर्णिमाको बेलामा लाग्ने मेला सकिएको छ । साउन शुक्ल एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेलामा यसवर्ष सात हजारको हाराहारीमा तीर्थालु भक्तजनहरू आएका मेला व्यवस्थापन समितिका संयोजक सञ्जीव डिएमले बताए । गतवर्ष दश हजारको हाराहारीमा यहाँ दर्शन गर्न आउने तीर्थालुको संख्यामा यसवर्ष करीव तीन हजार तीर्थालुको संख्यामा घटी भएको संयोजक डिएमले बताए ।
वि.सं २०६३ मा विश्व सम्पदा सूचिमा समेत सूचिकृत भएको गोसाइँकुण्ड जैविक विविधता तथा ऐतिहाँसिक दृष्टिकोणले पनि महत्वपूर्ण रहेको छ । पौराणिक ग्रन्थानुसार सत्ययुगमा देवता र दानव मिली समुद्र मथन गर्दा निस्केको हलाहल नामको कालकूट विष पृथ्वीको रक्षार्थ शिवले निल्दा घाँटीमा अड्केको र उक्त विषको डाहा मार्न भारत तथा नेपालका विभिनन मार्ग हुँदै यस ठाउँमा आई रिसाएर त्रिशूलले खोप्दा तीनधारा भएको पानीको मूल निस्की त्यही पानी पिएर डाहा शान्त पारेका किंवदन्ती पाईन्छ । सोही त्रिशूलधाराबाट निस्केको पानी जम्न गई गोसाइँकुण्ड तालको उत्पत्ति भएको पनि विभिन्न धार्मिक कथन छ ।
सोही पौराणिक तथा धार्मिक ग्रन्थमा उल्लेख भएका किंवदन्तीलाई विश्वास गरी यहाँ हरेक वर्ष स्वदेशी तथा विदेशी पर्यटकको आवागमन हुने गर्दछ । विशेष गरी साउन शुक्ल पक्षमा पर्ने जनैपूर्णिमा र जेठमा पर्ने गंगा दशाहरामा धार्मिक हिशावले यहाँ मेला लाग्ने गर्दछ भने पर्यटकीय हिशावले वर्षैभरि स्वदेशी तथा विदेशी पर्यटकहरू आउने गर्दछन् । भगवान् श्री शंकरको वासस्थानको रूपमा हिमालयको काखमा रहेको गोसाइँकुण्ड स्नान गर्नाले जीवनभरको पापबाट मुक्ति मिल्ने तथा मनले चिताएको पुरा हुने जनविश्वास रहेकोले वर्षेनी भक्तजनहरूको आउने गरेका छन् ।
लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने यो कुण्ड समुद्री सतहबाट ४३८५ मी. उचाईमा अवस्थित यस कुण्डको लम्बाई ६०० मीटर र चौडाई ३७० मीटर तथा गहिराई १८ दशमलव ३ मीटर रहेको छ भने यसका वरपर १०८ कुण्ड रहेको पनि बताईएको छ । रसुवाको बेत्रावती, कालिकास्थान, धुन्चे हुँदै यहाँ आईपुग्ने मार्ग एउटा हो भने हेलम्बु वा सुन्दरीजलबाट कुटुमसाङ, ठाडेपाटी, घोप्टे, फेदी हुँदै आउने मार्ग अर्को हो । रसुवाको सरमथली, यार्सा, चरीचोक थालीङडाँडा हुँदै पनि तीर्थालुहरूको आवागमन हुने गरेको पाईन्छ ।
यसवर्ष मेलालाई व्यवस्थित गर्न तथा स्वास्थ्योपचारमा सेवा पु¥याउन जिल्ला स्वास्थय कार्यालय रसुवा, नेपाली सेना तथा हिमालय उद्धार संघले कुण्ड तथा मार्गमा स्वास्थ्य शिबिर सञ्चालन गरेको थियो । तयसैगरि मेलाको सम्पूर्ण व्यवस्थापनका लागि नेपाल प्रहरी, नेपाल स्काउट , नेपाल रेडक्रस सोसाइटी , गोसाँइकुण्ड मेला व्यवस्थापन समितिलगायत विभिन्न संघसंस्थाले स्वयम् सेवकको भूमिका निर्वाह गरेका थिए ।