Sunday, October 27, 2013

दुर्घटनामा एकै परिवारका १० घाईते, एकको मृत्यु

१० कार्तिक । धुन्चे, रसुवा
धान भित्रयाउन खेतबाट धान, पराल आउँदै गरेको एक मिनिट्रक शनिबार साँझ दुर्घटनाहुँदा लहरेपौवा गाविसको पैरेबेशी नजिकै खाल्टेमा पल्टिदा ११ जना घाईते भएका छन् ।

हिजोसाँझ खेतबाट बिटा लगाएर फर्कने क्रममा पैरेबेशी नजिकै खाल्टेमा बा.अ.अ. १३६० नं को मिनि ट्रक पल्टिदा त्यहाँ सवार सवै घाईते भएका हुन् । लहरेपौवा गाविस ३ बनुवाका एकै परिवारका ११ जना घाईते भएको र आज बिहान स्टार अस्पताल सानेपामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाईतेहरूको राजधानीको बिभिन्न अस्पतालमा उपचार भैरहेको छ । घाईते १८ वर्षिय सुदिप आचार्यको मृत्यु भएको हो । दिनभरी खेतमा धान बिटा लगाएर परिवारका सवै मिनिट्रकमा घर तर्फ फर्कन लाग्दा दुर्घटना ग्रस्त भएको हो । 

घटनास्थल जिल्ला सदरमुकाम धुन्चेदेखि ४० किमी दक्षिणमा पर्दछ । घाईते हुनेहरूमा ईश्वर आचार्य, हरिप्रसाद आचार्य, विकास आचार्य, संगीता आचार्य, सन्तोष आचार्य, मोदनाथ आचार्य, जनक आचार्य, खिलनाथ आचार्य, रैला आचार्य र ठूलोगाउँका चालक सुवास तामाङ रहेका छन् । घाइतेहरू मध्ये ३ जनाको त्रिबि शिक्षण, ७ जनाको बिएन बि अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । नयाँ अस्थाई नम्बरमात्र लिएको मिनिट्रक पल्टेर ३० मीटर तल त्रिशूली बगरमा पुगेको थियो । दुर्घटनाको करण नखुलेको प्रहरीले जनाएको छ । 

Wednesday, October 23, 2013

बैद्य समूहले एमाओवादीको पोष्टर जलायो

कालिकास्थान, रसुवा । कार्तिक ६ । चुनावी प्रचारप्रसारको लागि लहरेपौवाको बनुँवास्थित नीलनाथ आचार्यको घरमा राखेको एमाओवादी रसुवाको प्रचार पम्प्लेट बैद्य समूहले आज विहान जलाएको छ । एकीकृत माओवादीका कार्यकर्ता लक्ष्मी न्यौपानेलाई समेत पेट्रोल छर्केर घाईते बनाएको बुझिएको छ ।

 एमाओवादीका चुनाव प्रचार विभाग सदस्य सोमबहादुर तामाङले फेसबुकमार्फत् दिएको जानकारी अनुसार पोस्टर जलाएर ध्रुब खड्काको नेतृत्वमा आएको टोली भागेको र गम्भीर घाईते भएकी आचार्यलाई उपचारार्थ त्रिशूली  हस्पिटल ल्याईएको छ । उक्त खबरलाई कृष्णसेन अनलाईनले पनि प्रकाशन गरेको छ । यस्तो छ फेसबुक र अनलाइन समाचार


Tuesday, October 22, 2013

रसुवामा २३,५२४ मतदाता, सबैभन्दा बढी भोर्लेमा र सबैभन्दा कम टिमुरेमा

धुन्चे, रसुवा, कार्तिक ५ गते ।
रसुवा जिल्लामा २३ हजार ५ सय २४ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी सुभाकर पौडेलले रेडियो रसुवाको मतदाता शिक्षा कार्यक्रम दिनुभएको जानकारी अनुसार सबैभन्दा बढी मतदाता भोर्लेमा र सबैभन्दा कम मतदाता टिमुरेमा रहेका छन् । भोर्लेबाट ३ हजार २ सय ७४ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् भने टिमुरेबाट २ सय ६० जनाले नाम दर्ता गराएका छन् । 
नाम दर्ता गराएका मतदाता संख्याको आधारमा लहरेपौवा दोस्रो धेरै मतदाता भएको गाविस हो भने धैबुङ तेस्रोमा पर्दछ । सरमथली, यार्सा र डाँडागाऊ गाविस क्रमशः चौथो, पाँचौ र छैठोमा पर्दछन् भने सदरमुकाम धुन्चे नवौं स्थानमा पर्दछ । रसुवा जिल्लाभरिको गाविस तथा मतदान केन्द्र अनुसार फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताको संख्यालाई तलको तालिकामा हेरौं ।
फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताको संख्या (स्रोत : जिल्ला निर्वाचन कार्यालय, रसुवा )
क्र संगाविसमतदान केन्द्रवडाहरूमतदातागाविसभरिको मतदाता संख्या
भोर्लेगोसाईकुण्ड मावि२,३९३६३२७४
दुप्चेश्वरी निमावि१,४९९६
बागेश्वरी मावि६३९
सेतीदेवी उमावि६,८,९७०३
लहरेपौवागाविस भवन१,२,३,९१५९७३०२३
मालिकादेवी प्रावि४,५,६८७४
ढुङ्गे निमावि७,८५५२
धैबुङसुन्धारा उमावि१,२,३,४११६८२८९८
कालिका हिमालय उमावि५,६,७९२७
१०नीलकण्ठ उमावि८,९८०३
११सरमथलीनिर्कुभूमे उमावि१,२,३,४७६६२१३५
१२दुप्चेश्वरी प्रावि५,६६२३
१३गौतमबुद्द मावि७,८,९७४६
१४यार्सानवजीवन प्रावि१,२,३६४९२०९६
१५सिमवन्दी प्रावि४,५,६५६७
१६आरूखर्क प्रावि७,८,९८८०
१७डाँडागाऊडाँडागाऊ उमावि१,२,३,४,५६२६१२५४
१८गणेश प्रावि, सिरूचेत६,७,८,९६२८
१९स्याफ्रुनेरामावि, ठूलोस्याफ्रु२,३,७,८४७९१२५३
२०गाविस भवन१,४,५,६९७७४
२१हाकुगोसाइकुण्ड प्रावि सानोहाकु१,२,३,४,५,६,७७७०१०९९
२२कालिका प्रावि, गोगने८,९३२९
२३राम्चेपलेप प्रावि१,२,५,६३१७९८०
२४सेतीभूमे मावि३,४,७,८,९६६३
२५धुन्चेरसुवा उमावि१,२,३,४,५,६,७,८,९९६३९६३
२६ठूलोगाऊभूमेदेवी मावि१,२,३,४,५,६,७,८,९९१६९१६
२७गतलाङनेरामावि, गतलाङ१,२,३,४,५,६,९६४३८५७
२८ग्रे प्रावि७,८२१४
२९चिलिमेस्वास्थ्य चौकी भवन, थाम्बुचेत१,२,३,४२८८७२०
३०पाजुङ प्रावि५,६,७,८,९४३२
३१थुमनगाविस भवन१,२,३,४,५,६,७,८,९५८७५८७
३२गोल्जुङपार्वतीकुण्ड उमावि१,२,३,४,५,६,७,८,९४९१४९१
३३बृद्धिमनेराप्रावि, खाम्जीङ१,२,३,४,५,६,७,८,९३८६३८६
३४लाङटाङनेराप्रावि१,२,३,४,५,६,७,८,९३३२३३२
३५टिमुरेनेरानिमावि, टिमुरे१,२,३,४,५,६,७,८,९२६०२६०

Thursday, August 29, 2013

उद्यमशीलता विकास तालिम

ठूलोभार्खु, रसुवा, भदौ १३ गते ।
व्यवसायिक रूपमा तरकारी खेती उत्पादन तथा बजारीकरणमा सहयोग पु¥याउन स्थानीय सम्भाव्य उद्यमीहरूलाई सात दिने उद्यमशीलता विकास तालिम सञ्चालन गरिएको छ । जिल्लास्थित दिगो उद्यम तथा वातावरण विकास समाज, धुन्चेको आयोजना तथा लघु उद्यम विकास कार्यक्रम (मेडेप) को सहयोगमा सञ्चालित उक्त तालिममा ठूलोभार्खुका २२ जना महिला तथा पुरुष कृषकहरूको सहभागिता रहेको प्रशिक्षककिशोरकुमार थापा मगरले जानकारी दिए ।
उक्त तालिममा परम्परागत शैलीमा गरिदै आएको तरकारी उत्पादनलाई व्यवसायिक तथा समय र हावापानी अनुकूल उत्पादन गर्न अभिप्रेरित गरिएको बताईएको छ ।

Monday, August 26, 2013

रसुवाका दलहरुलाई चुनावको चटारो

धुन्चे, रसुवा
संविधान सभाको निर्वाचन नजिकिन लाग्दा रसुवाका दलहरु तयारी लागेका छन् । देशमा निर्वाचन हुने भन्दै निर्वाचन आयोगले गरेको तयारीसँगै दलहरु पनि चुनाव तयारीमा जुटेका छन् । उनीहरुले आफ्ना बैठक र भेलामा पनि उम्मेदवारको छनौटमा जुटेका छन् । प्राप्त जानकारी अनुसार नेकपा एमालेबाट छोवाङ तेन्जिन तामाङ, माधव अर्याल, अशोक घिमिरे, जर्नादन ढकाल, कुलप्रसाद भट्ट, कर्नेल लामा उम्मेदवार बन्ने दौडमा छन् भने नेपाली काँग्रेसमा लामाकार्पु तामाङ, बालचन्द्र पौडेल, थुप्तेन लोप्साङ लामा उम्मेदवार बन्ने चर्चाको शिखरमा छन् । एनेकपा माओवादीबाट भने ईन्द्र गौतम, प्रेम तामाङ र माधब लामिछाने उम्मेदवार बन्ने प्रतिष्पर्धामा छन् । किटानी भने भएको छैन दलका नेताहरू छलफलमा जुटेकोले एक साताभित्र टुङ्गिने ती दल संबद स्रोतले जानकारी दिएको छ ।
निर्वाचन आयोगले तोकेको आर्को संबिधानसभाको निर्वाचन मिति नजिक आउँदै गर्दा साउनको पहिलो सातादेखि यहाँ राजनीतिक दलहरुको चुनावी गतिबिधि बढेको हो । आयोगले मंसिर ४ गतेको लागि निर्वाचनको मिति तोकेको छ ।
चुनावको तयारीमा लागेको एनेकपा माओवादी जिल्ला नेता जगतजङ्गले भन्नुभयो ‘गाउँ गाउँमा आफ्ना मतदाताहरुसँग भेटघाट तथा कार्यकर्ता परिचालनको काम अघि बढाएका छौ साउन अन्तमा अभियान जिल्लाभरी सक्ने कार्यक्रम छ । ’
त्यसैगरी नेपाली काँग्रेसले पनि गाउँ गाउँमा कार्यकर्ता भेटघाट कार्यक्रम मार्फत चुनावको माहोल ल्याएको छ । अभियानकै शिलशिलामा भोर्ले गाविसमा कार्यकर्ता भेटघाट तथा निर्वाचनको महत्वबारे अन्तक्र्रिया गरेको र १८ वटै गाविसमा अभियान सञ्चालन गरिने जिल्ला सभापति लामाकार्पु तामाङले बिज्ञप्तीमार्फत जानकारी दिनुभयो ।
त्यसैगरि नेकपा एमाले रसुवाले पनि निर्वाचनको लक्ष्य गरी जन संगठन सुदृृढिकरण तथा कार्यकर्ता परिचालन अभियानको नाममा चुनाव तयारी सुरु गरेको छ जिल्लाका उत्तरी क्षेत्रमा मतदाता सचेतना तथा कार्यकर्ता परिचालन कार्यक्रम भैरहेको नेकपा एमाले जिल्ला सचिव विष्णु देवकोटाले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । जिल्लाभरीका १८ वटै गाविसमा अभियाव मार्फत चुनावी गतिबिधी र मतदाता सचेतना गर्ने उहाँले बताउनुभयो ।
रसुवामा रहेका अन्य दलहरुको भने निर्वाचन गतिबिधि सुरु भएको छैन निर्वाचन तयारीको लागि आफ्नो पार्टीले गतिबिधि सुरु गर्ने योजना रहेको राप्रपा नेपालका वाङगेल थोक्राले बताए । जिल्लामा विगतको परिणामले खाना मानिएका राप्रपा जनशक्ति , नेकपा एकीकृत, ताम्सालिङ राष्ट्रिय दललाई भने चुनावको चटारो लागेको देखिदैन । नेकपा माओवादीले भने यो निर्वाचन आफुहरुलाई स्विकार योग्य नभएको भन्दै बहिस्कार गर्ने जिल्ला कमिटी सदस्य बिष्णु ढकालले जानकारी दिनुभयो ।

Sunday, August 25, 2013

महिला विकास कार्यालय रसुवाको बजेट ७९ लाख ८९ हजार

धुन्चे, रसुवा, भदौ ९ गते ।
आ.व. २०७०/०७१ कको लागि महिला तथा बालबालिका कार्यालय रसुवाको बजेट ७९ लाख ८९ हजार
भएको बताईएको छ । धुन्चेमा कार्यक्रम आयोजना गरी दिईएको जानकारी अनुसार आ.व. २०७०/०७१ को चालु तथा कार्यक्रम तर्फ ४८ लाख ६३ हजार, उपभोगतर्फ २६ लाख ५६ हजार र कार्य सञ्चालनतर्फ ४ लाख ६९ हजार बजेट रहेको छ ।
महिला विकास अधिकृत सन्ध्याराज सिंहले बजेट प्रस्तुत गर्नुभएको थियो भने प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, स्थानीय विकास अधिकारी ज्ञानराज पाण्डेले महिला विकास कार्यालयको बजेट जिल्लाका अरु कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला पशुु सेवा कार्यालयसँग प्राय मिल्ने भएकोले सहकार्य गरी सञ्चालन गर्नुपर्नेमा जोड दिनु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी घिमिरेले सबै कार्यालयले वितरणमुखी नभई परिमाणमुखी कार्य गर्नुपर्ने र गरिएका कार्यहरूको प्रभाव अनुगमन गरी आगामी कार्य गरिनु पर्नेमा जोड दिनुभयो ।

धुन्चे गाउँ बाल संरक्षण तथा संबद्र्धन समिति गठन

DSC01517धुन्चे, रसुवा, भदौ ९ गते ।धुन्चे गाविसमा रहेका बालबालिकाको संरक्षण, संबद्र्धन तथा सर्वाङ्गीण विकासका लागि गाउँ स्तरीय बाल संरक्षण तथा संवद्र्धन समिति गठन गरिएको छ । 


जिल्ला बाल कल्याण समितिको सहयोगमा निर्देशिका अनुसार गाविसका प्रतिनिधि, महिला स्वास्थ्य स्वयं सेविका, महिला कार्याकर्ता, राजनीतिक दलका प्रतिनिधि, बाल अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि, बाल क्लबका प्रतिनिधि तथा आदिवासी जनजातिको प्रतिनिधि सम्मिलित ९ सदस्यीय समिति गठन गरिएको धुन्चे गाविसका सचिव टिकमबहादुर शाहीले जानकारी दिनुभयो ।

समिति गठन कार्यक्रममा जिल्ला बाल कल्याण समितिका बाल विकास अधिकृत भगवती पौडेल र महिला विकास अधिकृत सन्ध्याराज सिंहले बाल अधिकार, नीति नियम तथा अन्तरराष्ट्रिय सन्धी, महासन्धीका विषयमा अभिमुखीकरण गर्नुभएको थियो ।

Saturday, August 24, 2013

गोसाईकुण्ड मेलामा १ लाख १७ हजार भेटी संकलन, तीन करोडको कारोवार

धुन्चे, रसुवा, ८ साउन ।
गोसाँईकुण्ड मेलामा आएका यात्रीबाट भएको विभिन्न ब्यापारबाट ३ करोड रुपैयाँ बरावरको आर्थिक कारोवार भएको छ ।
मेलामा आएका तीर्थ यात्रीहरूले गरेको कारोवारबाट तीन करोड बरावरको व्यापार भएको रसुवा उद्योग बाणिज्य संघले जनाएको छ । जिल्लामा स्थानीय स्याउ, चिज, खाजा, खाना, बास , बसभाडा, स्थानीय चिनो हस्तकलाका सामग्री, उपभोग्य बस्तुहरूको खरिद गरेर तीन करोड भन्दा बढि बारोवार भएको बताईएको छ ।
मेलामा सातहजार भन्दा बढि यात्री आएको र उनीहरूले मेला अबधिमा गरेको खर्चको अनुमान गरिएको गोसाँईकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष संजिव डिएम्ले बताए ।
त्यसैबीच गोसाँईकुण्ड आएका तीर्थ यात्रीले कुण्डमा चढाएको भेटीबाट १ लाख १७ हजार ७ सय रुपैयाँ संकलन भएको छ । गत वर्षको मेलामा १ लाख २७ हजार रुपैयाँ भेटी संकलनभएको समितिका कोषाध्यक्ष सुन्दरलाल श्रेष्ठले बताए ।
मेला सकिए पछि संकलित भेटी सदरमुकाम ल्याएर जिल्ला प्रहरी कार्यालयमा परिषरमा गनेर रकम क्षेत्र विकास समितिको खातामा संकलन गरिने जनाइएको छ । वर्षेनी कुण्ड तथा शिब मन्दिरमा भक्तजनले चढाएको भेटी समितिको कोषमा राख्ने गरिएको छ ।

परिश्रमी सोमबहादुर तामाङ र कृषिले ल्याएको परिवर्तन

ईन्द्रध्वज क्षत्री
रसुवा जिल्ला काठमाडौँबाट त्यति टाढा नभएपनि वर्षको कम्तीमा ३ महिना यो सडक सम्पर्कबाट बिच्छेद हुन्छ । यमानका पहिराले हरेक वर्ष कम्तीमा राम्चे र मुलखर्क गरी २ ठाउँमा सडकलाई क्षतविक्षत बनाइदिन्छन् र सदरमुकाम धुन्चे सडक सम्पर्कबाट बिच्छेद हुन्छ । यता राम्चेका बासिन्दा भने दुईतिरको पहिरोको कारणले टापुजस्तो अवस्थामा पुग्छन् । यस्तो अवस्थामा धेरैलाई लाग्नसक्छ त्यहाँ त झण्डै भोकमरीको अवस्था पो सिर्जना हुन्छ कि । तर त्यसो होइन ।
पानी पर्दा पहिरो चलिहाल्छ । माथिबाट ठुल्ठुला ढुँगा गड्याङगुडुङ आवाजसहित खस्छन्, तल बनिरहेको बाटोको डोरेटो पनि भत्काईदन्छ । तर कर्मठ उद्यमी र परिश्रमी रसुवाबासीलाई पहिरोले रोकेको छैन । पानी रोकिइसक्दा स्थानीयबासी जुट्छन्, पहिरो पन्छाउँछन् र अर्को डोरेटो बनाइहाल्छन् । उनीहरु आफु भोकमरीमा पर्ने कुरा त परै छाडौँ बरु काठमाडौँलाई समेत तरकारी खुवाइरहेका छन् ।
२०७० श्रावण १५ गते । यस्तै पहिरो पार गरेर राम्चे पुग्दा बिहानको ८ बजेको थियो । पहिरोकै मुख काटिनसक्दै देखियो मानिसहरुको भीडभाड । कोही बन्दा, कोही मुला, कोही आलु र कोही काउली बोकेर आइरहेका थिए। टिनले छाएको एउटा घरमा मानिसहरु आआफ्नो सामान जोखाउन तँछाडमछाड गर्दै थिए । यो राम्चेबजार कृषि बहुउद्देश्यीय सहकारी सँस्थाको कार्यालय साथै तरकारी सँकलन केन्द्र पनि हो । बुझ्दा थाहा भयो यहाँ जोखेपछि फेरी डोकोमा हालेर बोकेर पहिरो कटाएपछि पारिपट्टीबाट बस वा ट्रकमा राखेर यो तरकारी सीधै काठमाडौँ ल्याइन्छ । यसरी पहिरो कटाएबापत भरियाले प्रति केजी एक रुपियाँ पाउँछन् ।
मलाई जिज्ञासा लाग्यो यो लेकमा यसरी तरकारी खेती गरेर मानिसहरुले कति बेचबिखन गर्दा हुन्, कति आम्दानी गर्दा हुन् । मैले दर्ता किताब हेरेँ । मेरो आँखा एक ठाउँमा टक्क अडिए जहाँ लेखिएको थियोः
२०७० श्रावण १५ गतेको तरकारी सँकलन विवरण
सोमबहादुर तामाङ मुला २०० केजी, बन्दा ८०० केजी ।
एकै दिनमा एक मेट्रिक टन तरकारी बेच्नु सामान्य कुरा होइन । यस्तो भीरालो बस्तीमा एक जनाले ५० केजी नै बोकेर आएको भएपनि कम्तीमा २० खेप ल्याएपछि मात्र १ टन हुन्थ्यो । बिहान ८ बजे नै २० खेप तरकारी ल्याइपुर्याउने व्यक्तिलाई भेट्ने उत्सुकता मनमा आयो ।
खोज्दै जाँदा छेउमै सुस्ताउँदै गरेका भेटिए सोमबहादुर तामाङ । वर्ष ५५ । उनको साथमा थिइन् श्रीमती हिमबिरी, जेठो छोरा राम बहादुर र माहिलो छोरा सुकराम । उनीहरु मिलेर नै बिहानै १ टन तरकारी झण्डै १ किलोमिटर माथि रहेको बारीबाट अप्ठ्यारो भीरालो बाटो हुँदै सँकलन केन्द्रसम्म झारेका थिए । सबैका खुट्टा जुकाले खाएर रगत झरिरहेको थियो । तर उनीहरुले खासै त्यसको मतलब गरेका थिएनन् ।
सोमबहादुर आफुले त पढ्न पाएनन् नै दुर्गमताको कारणले उनका छोराहरुमध्ये पनि जेठो र माहिलोले क्रमशः २ र ४ कक्षामा पढ्दापढ्दै छाड्नु पर्यो । छोरीहरुले पनि पढ्न पाएनन् । कान्छो छोरा कुमार तामाङले भने पढ्न पाएपनि त्यति जाँगर देखाएनन् ।
बारी त थियो ७ रोपनी तर खोरियाजस्तो मात्र । वर्षभरिमा दुई बाली (मकै र कोदो) लगाइन्थ्यो तर त्यसबाट आएको उत्पादनले श्रम पनि हिसाब गर्ने हो भने लगानी उठाउन पनि मुश्किल पर्थ्यो – मुश्किलले ५ हजार रुपियाँ बराबर पनि आम्दानी हुन्नथ्यो। सोमबहादुर भन्छन् “त्यतिखेर त हाम्रो लगानी मात्रै खेर जान्थ्यो । वर्षमा झण्डै तीन महिनाजस्तो हिउँ पर्ने यस ठाउँमा मकै पाक्न ८ महिना लाग्थ्यो । कोदोलाई पनि झण्डै ५ महिना । कहिलेकाहीँ त लगाएको बीउजति मात्रै उठाउन पनि मुश्किल पर्थ्यो ।”
तर अहिले त्यही बारीबाट सोमबहादुरले वार्षिक झण्डै २ लाख रुपियाँबराबरको आम्दानी गर्छन् । खर्च कटाउँदा पनि १ लाखभन्दा बढी आम्दानी बच्छ । हामी पुग्दा बन्दा २० र मुला १५ रुपैयाँ प्रतिकेजी मुल्यमा बिक्री भइरहेको थियो । यसरी हिसाब गर्दा सोमबहादुरको उक्त दिनको मात्र आम्दानी १९ हजार हुन्थ्यो । ६,७ वर्षअघिसम्म त धुन्चेसम्मै पनि काठमाडौँबाट ल्याएको तरकारी ल्याइन्थ्यो । अहिले भने रसुवाको तरकारी उल्लेख्य परिणाममा काठमाडौँमा आउँछ । ‘पहिले त हामी पनि उतैबाट ल्याएर खान्थ्यो । अहिले त धेरै नै पठाउँछौँ काठमाडौँतिर’,यसो भन्दा सोमबहादुरको मुहारमा आत्मसम्मान र आत्मबिश्वास झल्केको देखिन्थ्यो ।
आखिर कसरी भयो त यो परिवर्तन?
एक सामान्य आइडिया
एउटा सामान्य आइडियाले सोमबहादुरजस्तै राम्चेका ३०० भन्दा बढी किसानहरुको जीवनस्तर परिवर्तन गर्न सफल भएको छ । वर्षैभरी तरकारीको अथाह माग भइरहने काठमाडौँबाट राम्चे धेरै टाढा छैन । काठमाडौँमा आउने तरकारीको मुल स्रोत तराइ हो । र त्यहाँका अधिकाँश खेतमा वर्षा याममा रोपाइँ हुन्छ । गर्मी र वर्षाद्का कारण त्यहाँ बेमौसमी तरकारी खेती गर्ने नै हो भने पनि धेरै कीटनाशक औषधी प्रयोग गर्नुपर्ने हुन्छ । जसले गर्दा अस्वस्थ तरकारी उत्पादन हुने र लगानी पनि बढ्ने अवस्था सिर्जना हुन्छ ।

तर, हिउँदमा तराइमा हुने तापक्रम मध्य र उच्च पहाडी भेगमा वर्षा याममा हुन्छ । यदि मध्य र उच्च पहाडी भागमा पनि तरकारी खेती बिस्तार गर्ने हो भने बेमौसममा पनि ताजा तरकारी उत्पादन भइरहने, त्यसमा कम लागत लाग्ने र कीटनाशक विषादी पनि कम प्रयोग हुने हुनाले स्वस्थ तरकारी उत्पादन हुन्छ । यही सम्भावनालाई मध्यनजर गरेर नेपाल सरकारको उद्योग मन्त्रालय र सँयुक्त राष्ट्रसँघीय बिकास कार्यक्रमद्धारा सँयुक्त रुपमा लागु भइरहेको लघुउद्यम बिकास कार्यक्रम (मेडेप)ले यी क्षेत्रहरुमा तरकारी खेतीका लागि पहल गरेको हो ।
मेडेपले बिगत छ वर्षदेखि त्यहाँका किसानलाई व्यावसायिक तरकारी खेती गर्नका लागि आवश्यक सीप, उन्नत बिउबिजनसम्मको पहुँच, घरायसी कम्पोष्ट मल बनाउने तरिका, बजारसम्मको पहुँच र नियमित आवश्यक प्राविधिक सहयोग प्रदान गरिरहेको छ । यसरी राम्चेमा मात्रै दुई समुहमा सँगठित भएर झण्डै ३०० किसानले व्यावसायिक तरकारी खेती गरिरहेका छन् । यसले गर्दा काठमाडौँका जनताले तुलनात्मक रुपमा ताजा र स्वस्थ तरकारी खान पाएका छन् भने राम्चेका जनताको जीवनस्तरमा उल्लेख्य परिवर्तन ल्याएको छ ।
त्यहाँका किसानमा यस्तो आत्मबिश्वास देखियो कि सोमबहादुरको जेठो छोरा रामबहादुर ४ वर्ष साउदी अरब बसेर फर्केपछि यहीँ किसानीमै लाग्ने बिचारमा छन् । २४ वर्षका उनले अलिक तल धैवुङमा १५ रोपनी जग्गा लिजमा लिएका छन् जहाँ यही वर्षदेखि तरकारी खेती गर्ने लक्ष्यमा छन् । राम्चेको पहिरोको अवरोध सहनु नपर्ने हुनाले उनले धैवुङमा जग्गा लिएको बताए । कुवेतमा रहेकी श्रीमतीलाई समेत उनले देशमै काम गर्ने भनेर फिर्ता बोलाएका छन् ।
बिकास र सशक्तिकरणः
बिकासले उनीहरुलाई सशक्तिकरण पनि गरेको छ । तुलनात्मक रुपमा पिछडिएको मानिने तामाङ समुदायका भएपनि राम्चेका बासिन्दा सँगठित बनेका छन् । उनीहरुले सहकारी सँस्था गठन गरेका छन् जसले बजारसम्मको पहुँच र बचत तथा ऋणका लागि समन्वय गर्छ । मेडेपलगायत अरु सँघसँस्थाको सहयोगमा बनेको साझा सुविधा केन्द्रको भवनमा सहकारीको पनि कार्यालय छ र यही ठाउँलाई तरकारी सँकलनका लागि पनि उनीहरुले प्रयोग गरेका छन् । सहकारीले काठमाडौँका तरकारी बजारसित सीधा समन्वय गर्छ । फलस्वरुप भाउमा ठगिने वा बिचौलियाले धेरै नाफा गरेर उनीहरुलाई कम मुल्य दिने सम्भावना पनि टरेर गएको छ । धेरै किसानमा खेती लगाएपछि फसल राम्रो नउठ्ने हो कि भन्ने चिन्ता भइरहन्छ । तर राम्चेका किसान भने ढुक्क देखिए कि उनीहरु अब सहयोग होइन बाली लगाउने बेला सहजरुपमा ऋण पाएमात्रै पनि हुने बताउन थालेका छन् ।
त्यहाँका किसानहरुसित छलफल गरेपछि मलाई के लाग्यो भने राज्यले सामान्य सहजीकरणमात्र गरिदिने हो भने नेपालमा रहेका अथाह सम्भावनालाई प्रयोग गरी नेपाली जनताकोप जीवनस्तर उकास्न गार्हो छैन । ठुला योजना निर्माण नै बिकास हो भन्ने सँकथनबाट बाहिर आएर जनताको जीवनस्तर उकास्न उनीहरुलाई प्रत्यक्ष लाभ पुग्ने सानासाना योजना र कार्यक्रम लागु गरेर बरु छीटो देश बिकसित हुन्छ जस्तो लाग्यो ।

Friday, August 23, 2013

गोसाँइकुण्ड मेलामा चिज बिक्री बढ्यो

गोसाँइकुण्ड मार्गमा पर्ने दुग्ध विकास संस्थानको गोसाईकुण्क चिज उत्पादन केन्द्रले मेलामा यस वर्ष चिज बिक्री बढाएको छ ।
यस पटकको मेलामा ४ सय किलो चिज र १ सय ५० किलो वटर (मख्खन) गरी ५ लाख ४० हजार रुपैयाँ बराबरको कारोवार भएको छ । मेलामा गतवर्ष भन्दा बढि चिज बिक्री भएको चिज केन्द्र प्रमुख छत्र तामाङले जानकारी दिए ।

गत वर्ष २० किलो चिज र मख्खन ९ हजार किलो मख्खन उत्पादन गरेको थियो भने यस वर्ष २५ हजार किलो चिज र १२ हजार किलो मख्खन उत्पादन गर्ने लक्ष्य रहेको तामाङले जानकारी दिए ।

चिज प्रतिकिलो १ हजार र मख्खन प्रतिकिलो ७ सय रुपैयाँमा बिक्री गरिरहेको छ ।
उच्च हिमाली क्षेत्रको स्वादिलो याक चिज मन पराएर यहाँ आउने तीर्थ यात्रीले किनेर लैजाने गरेको स्थानीय पर्यटन ब्यावसायी पासाङघ्युर्मी तामाङले जानकारी दिए ।

गोसाईकुण्ड अक्षय कोषमा ३ लाख जुट्यो


धुन्चे, रसुवा
गोसाईकुण्ड क्षेत्र विकास समितिको अक्षय कोषमा ३ लाख रुपैयाँ रकम थपिएको छ ।
युवा सन्त विष्णु प्रपन्नाचार्यद्धारा आयोजित एक कार्यक्रममा सन्तले क्षेत्र विकास समितिको अक्षय कोषमा ५१ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरेपछि ग्रीन सिटी अस्पतालबाट ५५ हजार , पासाङल्हामु यातायात सेवा समितिबाट २१ हजार लाङटाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र सहयोग आयोजनाबाट ६५ हजार , जिल्ला विकास समितिबाट ५१ हजार , रसुवाका स्थानीय विकास अधिकारी ज्ञानराज पाण्डेले ५ हजार १ सय ११ , तुप्चे निवासी टोलनाथ अधिकारीले ५ हजार , काठमाण्डौं झोर निवासी श्रीकृष्ण विडारीले ५ हजार र धैबुङ्ग गाविस १ निवासी नबराज न्यौपानेले २ हजार एक कार्यक्रमका बीच भएको क्षेत्र विकास समितिको अक्षय कोषका लागि प्रदान गरे ।
युवा सन्त विष्णु प्रपन्नाचार्यले जिल्लामा क्रियाशिल पत्रकार, सरकारी तथा गैरसरकारी संस्था, नागरिक समाज तथा मेला ब्यवस्थापनमा सहयोग गर्नेहरूलाई दोसल्ला ओढाएर सम्मानित गरेका  थिए ।

यस अधि क्षेत्र विकास समितिको अक्षय कोषमा ३ लाख ५० हजार रुपैयाँ संकलन भएको समितिका अध्यक्ष संजीव डिएम्ले बताए ।

त्यसैबीच गोसाँईकुण्ड आएका तीर्थ यात्रीले कुण्डमा चढाएको भेटीबाट १ लाख १७ हजार  ७ सय रुपैयाँ संकलन भएको छ । गत वर्षको मेलामा १ लाख २७ हजार रुपैयाँ भेटी संकलनभएको समितिका कोषाध्यक्ष सुन्दरलाल श्रेष्ठले बताए ।
मेला सकिए पछि संकलित भेटी सदरमुकाम ल्याएर जिल्ला प्रहरी कार्यालयमा परिषरमा गनेर रकम क्षेत्र विकास समितिको खातामा संकलन गरिएको जनाएको छ । वर्षेनी कुण्ड तथा शिब मन्दिरमा भक्तजनले चढाएको भेटी समितिको काषमा राख्ने गरिएको छ ।

Thursday, August 22, 2013

गोसाँइकुण्ड मेला सकियो, लगभग सात हजार तीर्थालुको आगमन

धुन्चे, रसुवा, भदौ, ६ गते । रसुवाको उत्तरी क्षेत्रमा पर्ने धार्मिक, ऐतिहाँसिक तथा पर्यटकीय क्षेत्र गोसाइँकुण्डमा जनैपूर्णिमाको बेलामा लाग्ने मेला सकिएको छ । साउन शुक्ल एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेलामा यसवर्ष सात हजारको हाराहारीमा तीर्थालु भक्तजनहरू आएका मेला व्यवस्थापन समितिका संयोजक सञ्जीव डिएमले बताए । गतवर्ष दश हजारको हाराहारीमा यहाँ दर्शन गर्न आउने तीर्थालुको संख्यामा यसवर्ष करीव तीन हजार तीर्थालुको संख्यामा घटी भएको संयोजक डिएमले बताए ।
वि.सं २०६३ मा विश्व सम्पदा सूचिमा समेत सूचिकृत भएको गोसाइँकुण्ड जैविक विविधता तथा ऐतिहाँसिक दृष्टिकोणले पनि महत्वपूर्ण रहेको छ । पौराणिक ग्रन्थानुसार सत्ययुगमा देवता र दानव मिली समुद्र मथन गर्दा निस्केको हलाहल नामको कालकूट विष पृथ्वीको रक्षार्थ शिवले निल्दा घाँटीमा अड्केको र उक्त विषको डाहा मार्न भारत तथा नेपालका विभिनन मार्ग हुँदै यस ठाउँमा आई रिसाएर त्रिशूलले खोप्दा तीनधारा भएको पानीको मूल निस्की त्यही पानी पिएर डाहा शान्त पारेका किंवदन्ती पाईन्छ । सोही त्रिशूलधाराबाट निस्केको पानी जम्न गई गोसाइँकुण्ड तालको उत्पत्ति भएको पनि विभिन्न धार्मिक कथन छ ।
IMG_7892
सोही पौराणिक तथा धार्मिक ग्रन्थमा उल्लेख भएका किंवदन्तीलाई विश्वास गरी यहाँ हरेक वर्ष स्वदेशी तथा विदेशी पर्यटकको आवागमन हुने गर्दछ । विशेष गरी साउन शुक्ल पक्षमा पर्ने जनैपूर्णिमा र जेठमा पर्ने गंगा दशाहरामा धार्मिक हिशावले यहाँ मेला लाग्ने गर्दछ भने पर्यटकीय हिशावले वर्षैभरि स्वदेशी तथा विदेशी पर्यटकहरू आउने गर्दछन् । भगवान् श्री शंकरको वासस्थानको रूपमा हिमालयको काखमा रहेको गोसाइँकुण्ड स्नान गर्नाले जीवनभरको पापबाट मुक्ति मिल्ने तथा मनले चिताएको पुरा हुने जनविश्वास रहेकोले वर्षेनी भक्तजनहरूको आउने गरेका छन् ।
IMG_1282
लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने यो कुण्ड समुद्री सतहबाट ४३८५ मी. उचाईमा अवस्थित यस कुण्डको लम्बाई ६०० मीटर र चौडाई ३७० मीटर तथा गहिराई १८ दशमलव ३ मीटर रहेको छ भने यसका वरपर १०८ कुण्ड रहेको पनि बताईएको छ । रसुवाको बेत्रावती, कालिकास्थान, धुन्चे हुँदै यहाँ आईपुग्ने मार्ग एउटा हो भने हेलम्बु वा सुन्दरीजलबाट कुटुमसाङ, ठाडेपाटी, घोप्टे, फेदी हुँदै आउने मार्ग अर्को हो । रसुवाको सरमथली, यार्सा, चरीचोक थालीङडाँडा हुँदै पनि तीर्थालुहरूको आवागमन हुने गरेको पाईन्छ ।
sibir (1)
यसवर्ष मेलालाई व्यवस्थित गर्न तथा स्वास्थ्योपचारमा सेवा पु¥याउन जिल्ला स्वास्थय कार्यालय रसुवा, नेपाली सेना तथा हिमालय उद्धार संघले कुण्ड तथा मार्गमा स्वास्थ्य शिबिर सञ्चालन गरेको थियो । तयसैगरि मेलाको सम्पूर्ण व्यवस्थापनका लागि नेपाल प्रहरी, नेपाल स्काउट , नेपाल रेडक्रस सोसाइटी , गोसाँइकुण्ड मेला व्यवस्थापन समितिलगायत विभिन्न संघसंस्थाले स्वयम् सेवकको भूमिका निर्वाह गरेका थिए ।

Sunday, August 18, 2013

वन कार्वन मापनका लागि अभिमूखीकरण तालिम

भाद्र, २ गते, बैरेनी धादिङ ।
वनमा रहेका कार्वनको मात्रा मापन गर्नका लागि दुई दिने अभिमूखीकरण तालिम बैरेनीमा सम्पन्न भएको छ । वन कार्वन मापनका माध्यमबाट समुदायमा वनको क्षयीकरणमा सुधार तथा हैसियत सुधार गरी वनमा कति मात्रामा कार्वनको मात्रा रहेको छ साथै “वन विनास तथा क्षयीकरण नियन्त्रणको माध्यमबाट कार्वन उत्सर्जनमा कटौती” (रेड) वापत पाउने रकमको लागि माग गर्न सहयोग पु¥याउँदछ । 

रसुवा, नुवाकोट, धादिङ तथा गोरखाबाट २१ जनाको सहभागिता रहेको उक्त तालिमममा वन कार्वन मापनका लागि नक्सांकन तथा सीमाङ्कन, खण्डीकरण, नमूना मापन र स्थायी प्लट संख्या निर्धारण तथा स्थायी प्लट निर्धारण लगायत विभिन्न तथ्याङ्क संकलनका बारेमा स्थलगत जानकारी दिईएको थियो ।
दिगो कृषि तथा जैविक स्रोतका लागि एशियाली नेटवर्क(एन्साव) को आयोजना तथा विश्व वन्यजन्तु कोष (WWF) को सहयोगमा बैरेनीस्थित स्रोत पहिचान तथा व्यवस्थापन समाज नेपालको हलमा सम्पन्न भएको बताईएको छ ।
तालिम सहजीकरणमा एन्सावका कल्याण गौली, शिवप्रसाद सुवेदी तथा आकृति पौडेल रहेका थिए ।

Friday, August 16, 2013

ग्रामीण अपाङ्गता समिति समीक्षा

साउन ३२, धुन्चे, रसुवा ।
रसुवाको धैबुङ, लहरेपौवा, राम्चे र भोर्लेमा रहेका ग्रामीण अपाङ्गता समन्वय समितिको वार्षिक कार्य समीक्षा धुन्चेमा सम्पन्न भएको छ । चार गाविसमा रहेका बाल अपाङ्गता रोकथाम तथा पुनस्र्थापनाका लागि सञ्चालन गरिएको उक्त कार्यक्रममा करूणा फाउण्डेसन, गाविस तथा जिल्ला विकास समितिको सहयोग रहेको कार्यक्रममा बताईएको छ ।
चार गाविसमा आर्थिक वर्ष ०६८/०६९ मा भएको २६ लाख ८० हजार ३१ रूपैंयाँ खर्च भएको र आगामी वर्षका लागि १८ लाख ६७ हजार ३ सय रूपैंयाँको कार्ययोजना प्रस्तुत गरिएको छ । उक्त कार्यक्रममा गाविस तथा जिल्ला विकासको सहयोग जुटाउने र प्रस्तावित कार्यक्रममा ८ लाख ७७ हजार ३ सय रूपैंयाँ करूणा फाउण्डेसनले उपलब्ध गराउने फाउण्डेसनकी कार्यक्रम संयोजक पुष्पा थापाले बताईन् ।
कार्यक्रम अन्तर्गत चार गाविसमा विभिन्न अपाङ्गता भएका ११८ जना बालबालकालाई स्वास्थ्योपचार, फिजियोथेरापी तथा सहयोग सामग्री सहयोग गरिएको राम्चे गाविसका सहजकर्ता दावाफूर्पा तामाङले जानकारी दिए ।
कार्यक्रम जिल्ला अपङ्गता समन्वय समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी गौतम रिमालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

खोल्साखाल्सी छोडेर शौचालय प्रयोग गर्दै बृद्धिमबासी

खुल्ला दिशामुक्त गाविस बन्यो बृद्धिम
साउन ३२ गते, धुन्चे, रसुवा ।
परम्परादेखि नै गाउँ वरपरका खोल्साखाल्सीमा खुल्ला ठाउँमा दिशापिशाव गर्दै आएका बृद्धिमबासीहरू अब शौचालय प्रयोग गर्न थालेका छन् । रसुवालाई सन् २०१५ सम्ममा खुल्ला दिशामुक्त जिल्ला बनाउने अभियानअन्तर्गत घरघरमा शौचालय निर्माण तथा प्रयोग गरेपछि जिल्लामा नै पहिलो पटक खुल्ला दिशामुक्त गाविस घोषणा गरिएको हो ।
जिल्लाका सरोकारवालाहरूको उपस्थितिमा बृद्धिमबासीले खुल्ला ठाउँमा दिशापिशाव नगर्ने भनी सपथ समेत् खाए भने आफ्नै स्रोतबाट शौचालय निर्माण गर्न नसक्ने घरधूरीलाई जिल्ला विकास समिति, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, बृद्धिम गाविस तथा जिल्लामा कृयाशील संस्था ग्रामीण पहुँच सुधार तथा अनुसन्धान संस्था (राडर) र सुआहारा कार्यक्रमले आर्थिक तथा प्राविधिक सहयोग समेत् गरे ।
बृद्धिम गाविसका १९३ घरधूरीमध्ये अभियान पूर्व ६६ घरधूरीमा शौचालय बनिसकेकोमा अभियान अन्तर्गत १२७ घरधूरीमा शौचालय निर्माण तथा प्रयोग गर्नका लागि आवश्यक सहयोगसमेत् गरिएको जिल्ला खानेपानी, सरसफाई स्वच्छता समन्वय समितिका अध्यक्ष ज्ञानराज पाण्डेले जानकारी दिनुभयो ।
बृद्धिम गाविस जिल्लाको पहिलो खुल्ला दिशामुक्त क्षेत्र बनेको भन्दै जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिले १ लाख नगद पुरस्कारसमेत् प्रदान ग¥यो । गाविसका सचिव सुभाष पौडेलले नियमित शौचालय प्रयोगका लागि अनुगमन गरिने पनि बताए ।
गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र बनाउने अभियानमा सहयोग पु¥याउने स्थानीय १३ जनालाई सम्मानपत्रद्वारा सम्मान गरियो । अभियान अन्तर्गत आर्थिक तथा प्राविधिक सहयोग गर्ने राडर/सुआहारा कार्यक्रम र घरघरमा पुगेर शौचालय निर्माण गर्न अभिप्रेरित गर्ने नेपाल टेलिभिजनका जिल्ला संवाददाता तथा लिङलिङ प्राविका प्रधानाध्यापक सुशील कोईरालालाई पनि सम्मान गरिएको बताईएको छ ।
See this in Meroreport.Net
खुल्ला दिशामुक्त गाविस घोषणा गर्ने कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, स्थानीय विकास अधिकारी ज्ञानराज पाण्डे, जिविसका योजना, अनुसन्धान तथा प्रशासकीय अधिकृत कृष्ण हुमागाई, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. रमेश खरेल, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङलगायतको उपस्थित थियो ।
खुल्ला दिशामुक्त गाविस घोषणा गर्ने अभियानमा गएका जिल्लाका सरोकारवालाहरूलाई बृद्धिमबासीहरूले स्थानीय भेषभूषाको झाँकी देखाउँदै मनोरञ्जन प्रदान गरेका थिए भने कार्यक्रमको प्रत्यक्ष प्रसारण रेडियो रसुवाले गरेको थियो ।

Tuesday, August 6, 2013

अमेरिकी पदयात्री स्याको हत्याको आशंका प्रहरी बिशेष अनुसन्धान ब्युरोद्दारा पाँचजना पक्राउ गरी अनुशन्धान सुरु

धुन्चे, रसुवा
तीन वर्ष अघि लाङटाङ पदयात्राका क्रममा हराएका एक अमेरिकी पर्यटक २३ वर्षीया आब्री क्यारोलिन स्याकोको खोजी गर्ने क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको सक्रियतामा  क्रममा हत्यामा संलग्न रहेको आशंकामा लाङटाङबाट चार जनालाई प्रहरीले आज गिरफ्तार गरेको छ । 
उनको राहदानी नं ४६५७२०७२० हो भने नेपालपर्यटन बोर्डबाट जारी टिम्सकार्ड नं १०३३९२ हो । हराएको १५ दिनपछि नेपालका पर्यटन बोर्ड, टान, लगायत संघ संस्थाहरू , प्रहरी, अमेरिकी दूतावासले खोजीकार्य जारी राखेपनि हालसम्म कुनै तथ्य भेर्टिको थिएन । अमेरिकको कोलोराडो स्थित ग्रीली निवासी स्याको २०१०को २२ अप्रिलदेखि लाङटाङ क्षत्रमा हराएर बेपत्ता थिईन् । लामो समयदेखि अनुशन्धानमा रहेको ब्युरोले सो घटनामा संलग्न भएको आशंकामा केही सयय अघि भोर्ले गाविस –१ का जगत तामाङ पक्राउ परेका थिए । उनले दिएको बयानको आधारमा अरु पनि पक्राउ परेका हुन् । राजधानी स्थित महानगरीय प्रहरी परिषर हनुमान ढोकामा रहेका जगतले दिएको सूचनाको आधारमा गत बिहिबार भोर्ले गाविस –१ का पेम्बा तामाङ, लाङटाङ गाविस–८ का लोप्चन तामाङ, सरमथली गाविस –९ घर भई हाल लाङटाङमा होटल ब्यावसाय गर्ने च्याङवा तामाङ र अर्का एकजना पनि पक्राउ परेको जानकारी आए पनि प्रहरीले पुष्टि गरेको छैन् । युवाहरूले हत्या गरी खोलामा कागजात र लाश फालेको प्रहरी अनुशन्धान ब्युरोमा बयान दिएको स्थानीयले बताए । जगतले दिएको बयानका आधारमा  लोप्चले आफुले योजना बनाएको स्वीकार गरेका छन् । पेम्बालाई ब्युरो टोलीले हत्या भएको स्थानमा लगेर पहिचान गरेका थिए । उनको साथमा भएको क्यामेरा भने जगतले लिएको बताईएको छ । हत्या भएको स्याको कपडा भने लोप्चनको घरमा भेटिएको प्रहरीले जनाएको छ । भारतहुँदै उनी पहिलो पल्ट लाङटाङ आएकी थिईन् । उनी घोडा तबेलासम्म पुेगेको भन्ने स्थानीयको भनाई छ । उनको २९ अप्रिल २०१० मा काठमाडौं फकैने तालिका थियो । उनीनफर्के पछि जिउँदो वा मृत अवस्था थाहा पाउन उनका ५६ वर्षीय बाबु पावेलले खोजीकार्यथालेका थिए । उनले छोरीसँग २० अप्रिलमा धुन्चेबाट अनलाईन कुराकानी भएको थियो । हेलिकोप्टरमार्फत गोसाँईकुण्ड र लाङटाङ क्षेत्रमा खोजी गरेका थिए । 
लाङटाङ पदयात्रा क्षेत्रको  रिभरसाईड भन्दा माथिको जंगलमा लगेर हत्या गरी खोलामा फलेको हुनसक्ने प्रारम्भिक अनुमान छ । घटनाबारे अनुशन्धान टोलीमा जिल्लाका प्रहरीहरू पनि संलग्न रहे पनि घटनाको बिस्तृत जानकारी जिल्लाले दिन नमिल्ने र केन्द्रीय अनुशन्धान ब्युरोले पत्रकार सम्मेलनमार्फत जानकारी दिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
घटनामा अमेरिकी दम्पत्ती पाउल साक्को र कोनी साक्कोले तीन वर्ष अघि हराएकी आफ्नी छोरी स्याकोको अवस्था पत्ता लगाउनेलाई नगद पुरस्कार तोकेका थिए । छोरीको अवस्था पत्ता लगाई दिनेलाई उनका परिवारले बर्षेनी पत्रकार सम्मेलनमार्फत २० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गर्दै आएका थिए । उनको खाजी कार्यकै क्रममा ब्युरोले हत्यागरी लाङटाङ पद मार्गको रिभर साईटमाफालिएको आशंका गरेको जनाएको छ । केही ब्यक्ति प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरे पनि अनुसन्धान पछि मात्र जानकारी दिन मिल्ने प्रहरी नावय उपरिक्षक अनुराग द्धिबेदीले  बताए ।  
स्थानीयले भने स्थानीयले भने पक्ताउ परेको जनाए । घटनामा पछि पर्यटकहरू आउने क्रम रोकिने चिन्ता बढेको छ । स्याको रसुवाको लाङटाङ भ्रमणका लागि स्याफ्रुबाट लाङटाङ तर्फ जाने क्रममा ०६७ बैशाख ७ गते हराएकी थिईन् । घटनामा संलग्न रहेको आरोपमा भोर्ले गाविस १ जगत तामाङ, लाङटाङ गाविस ८ लाक्पा तामाङ सरमथली गाविस ९ का च्याङवा तामाङ पक्राउ परेको स्थानीयले जानकारी दिए । उनीहरूलाई पक्राउ परेको भोलिपल्ट नै ब्युरोले अनुशन्धानका लागि काठमाण्डौं लगेको छ । 
जल्ला प्रहरी कार्यालयले भने अनुशन्धानको क्रममा रहेको र तत्काल केही सूचना दिन नमिल्ने जनाएको छ । 
यसअघि पनि पर्यटक हराएका थिए । एक वर्ष अघि मृत भेटिएकी २३ बर्षिया बेल्जिीयम नागरीक डेभी म्याभ्युको घटना अझै रहस्यमय छ । जिल्ला प्रहरीले हत्याको आशंक गरेपनि घटनाको न अपराधी पक्राउ भएको छ न कुनै तथ्य बाहिर आउन सकेको छ  । 
मृतक म्याभ्यु ०६९ जेठ १७ गते लाङटाङ घुम्न आएकी थिईन । उनी लाङटाङ राष्ट्रिय निकुञ्जको ईन्ट्री पोष्टमा आफ्नो विवरण लेखाएर गोसाँईकुण्ड तर्फ लागेकी थिईन् । जिल्ला सदरमुकाम नजिकै स्याफ्रु गाविस– ६ मा पर्ने गोसाँईकुण्ड पर्यटकीय मार्गको देउराली भन्दा तल खन्ती भन्ने जंगलमा हराएको १५ दिनपछि भेटिएको मृत अवस्थामा भेटिएको थियो । 




Sunday, August 4, 2013

हिमालयन बैकको ४० औ शाखा रसुवामा

धुन्चे, रसुवा
हिमालयन बैक लिमिटेडले रसुवाको बेत्रावतीमा आफ्नो ४० औ शाखा आईतबारबाट सञ्चालनमा ल्याएको छ ।

हिमालयन बैकका सञ्चालक समितीका सदस्य प्रचण्ड बहादुर श्रेष्ठ र रसुवाका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले संयुक्त रुपमा उद्घाटन गरे ।
उद्घाटन पछि हालसम्म हिमालयन बैकले आर्थिक गतिबिधी बारे चर्चा भएको थियो । बैकले स्थापनादेखि ०७० असाढ मसान्तसम्ममा रु ५३ अर्ब ७ करोड निक्षप संकलन गरेको र ४१ अर्ब ५ करोड कर्जा सापटी परिचालन गरेको सञ्चालक समितीका सदस्य श्रेष्ठले बताए । बैकले स्थानीय क्षेत्रमा संकलित निक्षपलाई स्थानीय स्तरमै संचालन गरिने व्यवसायमा प्रयोग गर्ने निती अनुरुप शाखाको स्थापना गरेको कार्यक्रममा जानकारी दिए । कार्यक्रममा उनले राष्ट्रिय आर्थिक विकासमा सहभागिता बढाउने र स्थानीयको आर्थिक उत्थानमा सहयोग गर्ने बताए ।
बेत्रावतीमा बैक खुलेपछि ब्यापारीहरु लुटिने तथा अन्य कारोवार गर्न सजिलो भएको स्थानीय गणेश श्रेष्ठले बताए ।

Wednesday, July 31, 2013

शहिद स्मृतिमा अपाङ्ग भएका बालबालिकालाई सहयोग

धुन्चे, रसुवा
शहिद मनोज झपेन्द्र स्मृतिको अवसरमा नेपाल निजामती कर्मचारी संगठनले अपाङ्गता भएका बालबालिकाहरूलाई सहयोग प्रदान गरेका छन् ।
संगठनले शहिद मनोज जोशी र झपेन्द्र कार्कीको संझनामा धुन्चे स्थित बाल मन्दिरमा सञ्चालित अपाङ्गता भएका बालबालिकाहरू अध्ययनरत सधन शिक्षा सदनमा ग्यास चुलो, कापी कलम तथा बिस्कुट प्रदान गरेको थियो । संगठनको कार्यालयमा भएको एक कार्यक्रममा अध्यक्ष रमेश बस्नेत, केन्द्रीय प्रतिनिधी होमशंकर बास्तोला, स्थानीय निकाय कर्मचारी संघका केन्द्रीय सदस्य कैसाङढिण्डुप तामाङ, सल्लाहकार कमिटी संयोजक नारायणप्रसाद पौडेलले  राष्ट्र सेवक कर्मचारीले नागरिकहरूको सेवा गरी राज्यलाई स्थायी सरकारको प्रत्याभूति दिने गरी सेवा प्रबाह गर्न  सकेमात्र शहिदहरू प्रतिको सच्चा श्रद्धा हुने बताउनुभयो । उहाँहरूले शहिदहरूको बलिदानको कदर गर्दै उहाँहरूको बाटोमा लाग्नु पर्ने बताउनुभयो ।
बाल मन्दिरमा सामाग्री हस्तान्तरण गर्दै सल्लाहकार पौडेलले संगठन मार्फत त्यहाँ अध्ययनरत बालबालिकाहरूलाई सहयोग स्वरुप बार्षिक ६ हजार रुपैयाँका दरले तीनवर्षसम्म १८ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गर्दै यस वर्षको ६ हजार रुपैयाँ हस्तान्तरण गर्नुभयो । कार्यक्रममा एउटा खुट्टा गुमाएकी भीमा रानामगरले रोचक नृत्य प्रस्तुत गरेकी थिईन् ।

Monday, July 29, 2013

एनेकपा माओवादीको जिल्ला ब्यापी अभियान

धुन्चे, रसुवा
एकीकृत नेकपा माओवादीले पार्टी सुद्धृढिकरण तथा आगामी निर्वाचन परिचालनका लागि जनसम्पर्क अभियान थालनी भएको छ । 
पार्टी केन्द्रीय सदस्य तथा सो अभियानका संयोजक केशवराज नेपालले सोमबार साँझ पत्रकार भेटघाटमा दिनु भएको जानकारी अनुसार जिल्लाका सवै गाविसमा अभियान कार्यक्रम साउन १५देखि सुरु गरी महिना भरिमा गर्ने कार्यक्रम तय भएको छ । पहिचान सहितको संघीयता संघीयता सहितको संबिधान भन्ने नाराका साथ कार्यक्रम गाउँ तहमा सञ्चालन हुने कार्यक्रममा जानकारी दिइएको थियो । बिगत संबिधान सभाको जटिलताहरु , संबिधान जारी हुन नसक्नाका कारणहरुको समिक्षा गरी आगामी निर्वाचनको महत्व, राजनीतिक उपलब्धिको रक्षा गरी जनताका हक स्थापित गराउन जसरी पनि संबिधान सभाको निर्वाचनमार्फत संबिधान जारी गर्ने अभियानमा बाधा पु¥याए अभियान पछि आन्दोलनबाटै समाप्त पार्ने जानकारी दिनुभयो । 
पार्टीले कार्यक्रम २४० वटै निर्वाचन क्षेत्रमा एकै साथ गर्न लागेको र आजैबाट यो कार्यक्रम औपचारिक रुपमा सुरु भएको हो । 
एकीकृत नेकपा माओवादी जिल्ला कमिटी तथा राज्य समितिको बैठकबाट तय भएको कार्यक्रम अनुसार १५ गते धुन्चे र हाकुमा , गोल्जुङ, गत्लाङ र चिलिमेमा १७ गते, स्याफ्रु, थुमन, टिमुरे, बृद्धिम र लाङटाङका कार्यक्रम १८ गते,  धैबुङ्ग र राम्चेको कार्यक्रम २० गते, भोर्लेमा २१ गते, यार्सा र सरमथलीमा २३ गते , लहरेपौवामा २५ गते र डाडाँगाउँ ठूलोगाउँमा २७ गते कार्यक्रम तय भएको जानकारी दिइएको थियो । 
आगामी निर्वाचनका लागि जगतजंगको संयोककत्वमा ४५१ सदस्य रहेको निर्वाचन परिचालन मूल कमिटी गठन भएको र प्रचार प्रसार, आर्थिक परिचालन, युवा परिचालन तथा सुरक्षा,पार्टी प्रबेषका लागि बार्ता कमिटी समेत गठन भएको तथा उम्मेदवार छनौटका लागि नाम संकलन पनि गर्ने पत्रकार सम्मेलनमा नेपालले जानकारी दिनुभयो ।  

Sunday, July 28, 2013

रसुवामा एमाओवादी अभियान सुरु

साउन १३ धुन्चे रसुवा । एीकृत नेकपा (माओवादी) आफ्नो देशव्यापी निर्वाचन अभियान चलाउने निति अनुरुप आजबाट रसुवामा पनि अभियानको सुरुवात गरेको छ । अभियानको सुरुवात एमाओवादी केन्द्रिय सदस्य एवं अभियान संयोजक केसवराज नेपाललाई सदरमुकाम धुन्चेमा जिल्लाका नेता तथा कार्यकर्ताहरुले खादा माला तथा टिका लगाएर स्वागत गरेका छन् ।
 
निर्वाचन केन्द्रित एक महिने अभियानको सुरुवात जिल्ला सदरमुकामबाट गरेका हुन् । अभियानको क्रममा जिल्लाका १८ ओटै गाविसमा गएर शहिद तथा बेपत्ता परिवार , घाइते , पार्टी समर्थक , नेताकार्यकर्ता लगाययत अन्य पार्टीका नेता कार्यकर्तासँग पनि भेटघाट गर्ने जिल्ला नेता इन्द्र गौतम जगतजंगले बताउनु भयो । 

अभियानका क्रममा एमाओवादीले आफ्नो पार्टी संगठन सुदृढीकरणका साथै आफ्नो आन्तरिक र बाह्य अवस्थाको बारेमा पनि पत्ता लगाउने छ । आगमी निर्वाचनमा को नेतालाई उठाउने वा कसलाई टिकट दिने भनेर पनि जनस्तर सम्म अन्तरक्रिया सञचालन गर्ने एमाओवादी रसुवाले जनाएको छ । एमाओवादी रसुवामा पहिला झै विजय हुने भन्दै फेरी पनि आफुले जित्ने एक नेताले दावी गनु भएको छ ।

Friday, July 26, 2013

बृद्धिम र टिमुरेलाई खुल्ला दिशामुक्त बनाउने तीव्र तयारीमा

धुन्चे, साउन ११ । सन् २०१५ सम्ममा रसुवालाई खुल्ला दिशामुक्त बनाउने अभियान अन्तर्गत बृद्धिम गाविसलाई खुल्ला दिशामुक्त बनाउन अभियान तीव्र पारिएको छ । जिल्ला विकास समिति, जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले बृद्धिम गाविसलाई यही साउन ३१ गते खुल्ला दिशशाशमुक्त गाविस घोषणा गर्ने तयारी गरिरहेको छ ।

बृद्धिम गाविसलाई रसुवाकै पहिलो खुल्ला दिशामुक्त गाविस बनाउनको लागि आवश्यक पूर्व तयारी भईरहेको बताईएको छ । बृद्धिम गाविसमा १ सय ९३ घरधूरीमध्ये ५२ घरधूरीमा अभियान पूर्व नै शौचालय निर्माण भएको र अभियानका क्रममा ४८ घरधूरीमा शौचालय बनिसकेको स्थानीय विकास अधिकारी तथा जिल्ला सरसफाई तथा स्वच्छता समन्वय समितिका संयोजक ज्ञानराज पाण्डेले बताउनु भयो । बाँकी रहेका ५७ घरधूरी शौचालय निर्माण प्रकृयामा रहेका पनि पाण्डेले जानकारी दिनुभयो ।

बृद्धिम गाविसमा अभियान सञ्चालन पूर्व तथा सञ्चालनको अवधिमा शशौचालय निर्माण गर्ने तथा निर्माणका प्रकृयामा रहेका घरधूरी वडा अनुसार यसप्रकार रहेको छ ।
वडा  
जम्मा घरधूरी
अभियान पूर्व शौचालय बनेका घरधूरी
हाल निर्माण भईरहेका घरधूरी
प्रक्रियामा रहेका घरधूरी
42
5
12
25
2
10
7
3

3
20
13
7

4
19
8
5

5
14
5
5
4
6
20
7
4
9
7
48
4
4
10
8
11
3
4
4
9
9
0
4
5
जम्मा
193
52
48
57


त्यसैगरि टिमुरे गाविसलाई पनि छिट्टै खुल्ला दिशामुक्त गाविस घोषणा गर्ने तयारी रहेको पनि बताईएको छ । टिमुरेमा रहेका १ सय २४ घरधूरी मध्ये ७० घरधूरीमा अभियान पूर्व नै शौचालय बनिसकेको पाईएको छ भने अभियानका क्रममा ५ घरधूरीमा शौचालय निर्माण गरिसकिएको छ । दश घरधूरीमा निर्माण प्रकृया अघि बढाईएको छ भने ४० घरमा बन्न बाँकी रहेको बताईएको छ ।

सो अभियानका लागि जिल्ला विकास समिति, जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति तथा सुआहारा कार्यक्रमले सहजीकरण गरिरहेका छन् । प्रत्येक घरधूरीमा शौचालय निर्माण तथा प्रयोगका लागि जनचेतना विस्तार गर्ने तथा उनीहरूको वर्गीकरण गरी शौचालय निर्माणका लागि आर्थिक वा भौतिक सहयोग गर्ने पनि जानकारी दिइएको छ ।

अति विपन्न परिवार जो ब वर्गमा पर्छन् उनीहरूलाई प्यान, पाईप, जस्तापाता, सिमेन्ट र रड ख वर्गका गरिवलाई प्यान, पाईप र सिमेन्ट  तथा ग वर्गका गरिव परिवारका लागि प्यान र पाईप उपलब्ध गराउने पनि बताईएको छ ।

रसुवाका १८ रै गाविसलाई सन् २०१५ सम्ममा खुल्ला दिशामुक्त घोषणाको तयारीका लागि आम नागरिक, सरकारी तथा गैरसरकारी संघसंस्थालगायत जिल्लास्थित विभिन्न जलविद्युत कम्पनीहरूलाई आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याउन पनि जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले अनुरोध गरेको छ ।