Monday, July 1, 2013

धुन्चे गाविसलाई खुल्ला दिशामुक्त बनाउन सुरु

असार, १७ धुन्चे, रसुवा ।  धुन्चे खानेपानी तथा सरसफाई समन्वय समिति, धुन्चे गाविस तथा जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समितिको पहलमा धुन्चे गाविसलाई खुल्ला दिशामुक्त गाविस बनाउने काम सुरु भएको छ । आज विहान  ड्रायगन गेस्ट हाउसमा भएको कार्यक्रममा उक्त जानकारी दिइएको हो ।

जिल्लालाई सन् २०१५ सम्ममा खुल्ला दिशामुक्त बनाउने अभियानमा सहयोग गर्न धुन्चे गाविसवासीहरूमा स्थानीय विकास अधिकारी ज्ञानराज पाण्डेले आग्रह गर्नुभयो । उहाँले सदरमुकाम धुन्चेलाई स्वच्छ, सफा तथा खुल्ला दिशामुक्त बनाई आफ्नो परिचय स्थापित गर्न विशेष गरी आमा समूह सकृय हुनुपर्नेमा जोड दिनुभभयो ।

बरिष्ठ जनस्वास्थ्य अधिकृत डिल्लीरमण अधिकारीले खुल्ला दिशाले मानव स्वास्थ्यमा पुर्याउने हानीका विषयमा जानकारी दिनुभएको थियो भने धुन्चे बजार परिक्रमा गरी सडकमा भाँडा माझने, कपडा धुन्चे तथा अन्य पानी फ्याल्ने गरेको भेटिएमा पहिलो चरणमा रू. ५०० जरीवाना गर्ने दोस्रो पटकदेखि पनि भेटिएमा कडा कारवाही गरिने धुन्चे गाविसका सचिव टिकमबहादुर शाहीले जानकारी दिनुभयो ।


आफ्नो घर वरीपरी फोहोर फाल्ने, जुठो तथा सफा गरेको पानी फाल्ने र शौचालय निर्माण नगरी खुल्ला दिशापिशाव गर्नेलाई सरकारी सेवा सुविधाबाट पनि बञ्चित गरिने बताईको छ । लाङटाङ राष्ट्रिय निकुञ्जका सहायक वार्डेन  बुद्धिराज पाठले पनि शौचालय नबनाइएका घरधुरीलाई निकुञ्जको स्रोत प्रयोग गर्न अनुमति नदिने बताउनुभयो ।

No comments: