धुन्चे-७ निवासी लामाकार्पू घले अहिले फर्निचर बनाउन सिक्न चाहनेहरूका लागि प्रशिक्षक बनेका छन् । विगत १० वर्षेखि यो पेशा गर्दै आएका घलेले यो मौका कहिल्यै पाएका थिएनन् । सीप भएमा अवसर पाइँदो रैछ, सामान्य पनि प्रशिक्षक बन्न पाएकोमा खुसी व्यक्त गरे उनले ।
लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज धुन्चे र लाङटाङ राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र सहयोग आयोजनाले श्रमिकहरूलाई फर्निचर निर्माण तालिम आयोजना गरेपछि उनी प्रशिक्षक बन्न पाएका हुन् । आफू प्रशिक्षकको रूपमा छानिए पछि मात्र उनलाई थाहा भयो कि आफ्नो उत्पादन राम्रै रहेछ, समाजले कार्यको मूल्याङ्कन गरेका रहेछन् ।
नि.सो. फर्निचरमा आयोजना भएको उक्त तालिममा ६ जना श्रमिकहरू फर्निचर निर्माण गर्न सिक्दैछन् । सहभागीहरूले ध्यान दिएर काम सिकिरहेकोले छिट्टै पलङ, टुल, टेवल तथा दराजलगायतका सामग्री सजिलै बनाउन सक्नेछन् र घरमा पनि फर्निचर निर्माण गरिरहन पर्नेमा उनले जोड दिए ।
गाउँमा नै फर्निचर निर्माण गरेर वाषिर्क ५० हजार आम्दानी गर्ने घलले वन संरक्षणमा पनि ध्यान दिनुपर्ने बताए । फर्निचरजन्य उद्योगले वन संरक्षणमा चुनौति दिएको छ नि - भन्ने प्रश्नमा उनले भने "बुढो र ढल्ने अवस्थाका रूख, ढलेका रूख प्रयोग गरेर र प्रयोग गरिने काठको मोर्टाईमा केही कम गरेर यो समस्या समाधान वा न्यूनीकरण गर्न सकिन्छ ।"