धुन्चे, रसुवा, असार १२ ।
हिमाली जिल्ला रसुवाका नागरिकहरूको स्वास्थ्य सेवा प्रतिको चासो बढेको पाईएको छ । स्थानीयले गाउँतहमा स्वास्थ्य सेवाको पहुँच बढाउन स्वास्थ्य संस्थाको भवन निर्माणका लागि जग्गा दिन समेत थालेका छन् ।रसुवाको यार्सामा सञ्चालित स्थास्थ्य सेवाको सामाजिक परीक्षण कार्यक्रममा भएको छलफलपछि स्थानीय बुद्धिजिवी राजाराम थोक्राले गाउँमा स्तरीय स्वास्थ्य सेवाका लागि १ रोपनी १५ आना जग्गा निःशुल्क प्रदान गर्ने घोषणा गरे । उनले आफ्नो बाबु पूर्व जिविस सभापति लछिन लामाको नाममा जग्गा तत्कालै पास गरेर स्वास्थ्य संस्थालाई गरेका हुन् । गाउँलेको स्वास्थ्य सेवाका लागि उनले निःशुल्क जग्गा दिएको बताए । स्वास नेपाल तथा जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा भएको सामाजिक परीक्षणका क्रममा भएको छलफलबाट गाउँ गाउँमा आमा तथा मातृ शिसु मृत्यु दर न्यन गर्न सुरक्षित सुत्केरी केन्द्र खोल्ने र दक्ष स्वास्थ्यकर्मीको व्यवस्था गर्न माग बढेको छ ।
केही स्वास्थ्य चौकीमा दरवन्दी अनुरुप स्वास्थ्यकर्मी नभएपनि करारमा रहेका केही स्वास्थ्यकर्मीले सेवा प्रदान गरेको र तत्काल दरवन्दी परिपूर्तिका लागि प्रयास भैरहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा रमेश खरेलले जानकारी दिनुभयो । रसुवाका आठ वटा स्वास्थ्य संस्थामा सामाजिक परीक्षण सम्पन्न भएको र स्वास्थ्य सेवामा पहुँच बढाउन स्थानीयको अझै गुणस्तरीय स्वास्थ्य सेवाको माग बढेको जिल्ला स्वास्थ्य कार्यालयका नाराण पौडेलले बताए । जिल्लाका आठ स्वास्थ्य चौकीहरूमा भएको स्वास्थ्य संस्थाको सामाजिक परीक्षण कार्यक्रम स्थानीय नागरिकले अत्यावश्यक स्वास्थ्य सेवाका लागि गाउँमा सुरक्षित प्रसुति केन्द्र खोल्नु पर्ने, दरबन्दी अनुसारको कर्मचारी ब्यवस्था हुनु पर्ने माग गरेका छन् ।