Tuesday, June 25, 2013

रसुवा अस्पतालमा आकस्मिक रक्त सञ्चार सेवा सुरु

 धुन्चे, असार ११ गते । रसुवा डिजिटल खबर
रगतका समस्याका कारण यहाँ उपचार गर्न आउने विरामीलाई अन्यत्र रिफर गर्न नपरोस् भन्ने उद्धेश्यले रसुवा जिल्ला अस्पतालले आजदेखि "आकस्मिक रक्त सञ्चार सेवा" सुरु गरेको छ । उपचार गर्न आउने विरामीहरूले रगतको खाँचो पर्ने भएपछि उक्त सेवा सुरु गरिएको कार्यालय प्रमुख  रमेशकुमार खरेलले बताउनु भयो ।

अस्पतालको आफ्नै पहलमा सुरु गरिएको उक्त सेवामा प्रत्येक रगत समूह व्यक्ति पहिचान गरी आवश्यक पर्दा रगतदानका लागि आग्रह गर्ने र प्रत्येक समूहका रगतहरू स्टक राखिने पनि खरेलले जानकारी दिनुभयो । प्राप्त रगत ३४ दिनभित्रमा प्रयोग गरिसक्नुपर्ने भएकोले जिल्लालाई स्टक राखी अन्य रगतहरू नुवाकोट तथा देशका अरु रक्त सञ्चार सेवा केन्द्रहरूलाई दिने पनि बताइएको छ ।

सो सेवा सञ्चालन गर्नको आवश्यक पूर्वाधार  दक्ष डक्टरको व्यवस्थापन भईसकेको र आवश्यक  पर्ने रगत दिनको लागि सम्पूर्ण  नागरिक समाज, सरकारी तथा गैरसरकारी संस्थाका व्यक्तिहरूलाई अस्पतालले अनुरोध गरेको छ । यो सेवा सञ्चालन पछि छिट्टै नै अल्ट्रासाउण्ड र अपरेसनको सेवा पनि सञ्चालन गर्न लागिएको बताईएको छ ।

आकस्मिक रक्त सञ्चार सेवा उद्घाटन समारोहमा रगत के हो, किन दान गर्ने भन्ने विषयमा पनि जानकारी दिइएको थियो । आकस्मिक रक्त सञ्चार सेवा सञ्चालनको लागि कार्यालय प्रमुख खरेल तथा जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीलगायतले रगत दान गरेका थिए ।

No comments: