कालिकास्थान, रसुवा
जिल्लाका भूमिहिन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका समस्याहरू समाधान गर्ने उद्देश्यका साथ कालिकास्थानमा जिल्ला भूमिअधिकार मञ्च र जिल्ला सुकुम्वासी समस्या समाधान आयोगबीच कार्तिक १६ गते अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लामा लामो समयदेखी भूमिअधिकारको सवालमा संघर्षरत भूमिअधिकार मञ्च र भर्खरै मात्र नेपाल सरकारद्धारा गठित आयोगबीच सुकुम्वासी तथा भूमिहिनका समस्या समाधानका विषयमा अन्तक्र्रिया भएको हो ।
अन्तक्र्रियामा सुकुम्वासी समस्या समाधान आयोगका अध्यक्ष विजय लामा, आयोगकी सदस्य तथा भूमिअधिकार मञ्चकी अध्यक्ष चित्रकुमारी न्यौपाने, मञ्चका संस्थापक अध्यक्ष भवानीप्रसाद न्यौपाने, अखिल नेपाल किसान संघका अध्यक्ष चुडामणी पौडेल, नेकपा एमालेका धैबुङ्ग गाविसका गाउ कमिटी अध्यक्ष चिरन्जिवी पौडेल तथा स्थानीय समाजसेवी, सुकुम्वासी तथा भूमिहिन र भूमिअधिकारकर्मीहरू गरी ३० जनाको उपस्तिथि रहेको थियो ।
उक्त अन्तक्र्रियामा सुकुम्वासी समस्या समाधान आयोग र मञ्चबीच समन्वय गरी जिल्लाका भूमिहिन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका समस्याहरू समाधान गर्नेमा जोड् दिईएको थियो । आयोगले २०७१ असोज २६ गतेदेखी कार्तिक ३० सम्मको लागी भूमिहिन तथा सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूको आवेदन फाराम माग गरेको छ । भौगोलिक विकटताको कारण निवेदन पेश गर्नका लागी तल्लोक्षेत्रका तथा भूमिहिन तथा सुकुम्वासीहरूलाई सदरमुकाम जान अप्ठेरो पर्ने भएकाले सहजताका साथ आवेदन दिने वातावरण मिलाउनका लागी जिल्ला भूमिअधिकार मञ्च, रसुवाको भूमिघर कालिकास्थानमा आयोगको सम्पर्क कार्यालय राखिएको भूमिअभियानकर्मी सुष्मा न्यौपानेले बताईन् । आगामी दिनमा आवेदन संकलन लगायतका सूचना दिने, सहयोग गर्ने लगायतका कामहरू भूमिघरबाट पनि नियमित सञ्चालन हुनेछ ।
यसअघि जिल्ला भूमिअधिकार मञ्चको पहलमा ५८ जना सुकुम्बासीहरुको आवेदन केन्द्रीय आयोजमा परेको थियो ।
No comments:
Post a Comment